५१ लाखमै आइकार भी२७, नाइमा एक्स्पोमा सार्वजनिक

काठमाडौं। एसपीजी अटोमोबाइलले नेपालमा आइकार ब्रान्डको नयाँ हाइब्रिड एसयूभी भी२७ सार्वजनिक गरेको छ। नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै कम्पनीले अफरोड क्षमतासहितको यो एसयूभी नेपाली बजारमा ल्याएको हो।

नाइमा अफरअन्तर्गत आइकार भी२७ को मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ। यद्यपि, कम्पनीले यसै गाडीको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ पनि उल्लेख गरेको छ। आइकार भी२७ मा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँगै ३३.३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री उपलब्ध छ। यसले प्योर इलेक्ट्रिक मोडमा करिब १४५ किलोमिटर यात्रा गर्न सक्ने दाबी गरिएको छ। पेट्रोल र विद्युतीय प्रणाली दुवैको प्रयोग गर्दा यसको कुल रेन्ज करिब १,२०० किलोमिटर पुग्ने कम्पनीको भनाइ छ।

अल ह्विल ड्राइभ प्रणालीयुक्त भी२७ ले अधिकतम ३३५ किलोवाट पावर र ५०५ न्यूटन मिटर टर्क उत्पादन गर्छ। यसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति करिब ५.५ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीले जनाएको छ।

आकारका हिसाबले भी२७ को लम्बाइ ५,०५५ एमएम, चौडाइ १,९७६ एमएम र उचाइ १,८९४ एमएम रहेको छ। एसयूभीमा २,९१० एमएमको ह्विलबेस दिइएको छ। हाइब्रिड प्रविधि, विद्युतीय ड्राइभ र अफरोड डिजाइनलाई एकैसाथ समेटेको भी२७ले नेपाली एसयूभी बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *