

काठमाडौं । साउन महिनामा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको बीमा पोलिसी सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा बीमितहरूले ९ हजार ७९८ वटा पोलिसी सरेन्डर गर्दा १४ वटा बीमा कम्पनीहरूले १ अर्ब २८ करोड ३३ लाख ३८ हजार रुपैयाँ रकम फिर्ता गरेका छन् । प्राधिकरणको यो तथ्यांकले जीवन बीमा कम्पनी हरुको व्यवसायमा ठूलो धक्का लागेको देखाएको छ ।
सबैभन्दा धेरै पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमित छन् । यस अवधिमा नेपाल लाइफका बीमितले ३ हजार ३२४ वटा बिमालेखबापत ४७ करोड २३ लाख ७ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् ।
दोस्रो धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको रहेको छ । कम्पनीका २ हजार २४ बीमितले ३१ करोड २५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् ।
यस्तै, हिमालयन लाइफका ९८८ बीमितले १२ करोड २२ लाख, राष्ट्रिय बीमा संस्थानका ८६२ बीमितले १० करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।
राष्ट्रिय बीमा संस्थानबाट १० करोड ३२ लाख ८९ हजार रुपैयाँको ८६२ वटा बिमालेखहरु सरेन्डर गरेका छन् ।
साउनमा सूर्यज्योति लाइफका ४०८ बीमितले ७ करोड ४६ लाख रुपैयाँ, एशियन लाइफका ७४४ बीमितले ५ करोड ८४ लाख, नेशनल लाइफका २९१ बीमितले ४ करोड ५५ लाख, मेट लाइफका ४६८ बीमितले ४ करोड ३९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् ।
यता, सानिमा रिलायन्सका १८० बीमितले १ करोड ५१ लाख, सिटिजन लाइफका १७६ बीमितले १ करोड १४ लाख, आइएमई लाइफका १३३ बीमितले ९९ लाख, रिलायवल नेपालका १६२ बीमितले ९० लाख र प्रभु महालक्ष्मी लाइफका २५ बीमितले ३५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् ।
प्राधिकरणका अनुसार सबै भन्दा कम पोलिसी सरेन्डर हुनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । साउनमा कम्पनीका १३ बिमितले ११ लाख ८७ हजार रुपैयाँको पोलिसी त्याग गरेका छन् ।

अर्थ सन्जाल