काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एशिया प्रशान्त क्षेत्रका २६ वटा देशका केन्द्रीय बैंकका प्रमुखहरुको सूचीमा कमजोर देखिएका छन् । गभर्नर अधिकारीले विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङमध्ये कमजाेर अर्थात् ‘सी’ ग्रेड पाएका हुन् ।
अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले प्रत्येक वर्ष विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङ सार्वजनिक गर्दै आइरहेको छ । विभिन्न देशका केन्द्रीय बैंकका प्रमुखहरुको कार्यप्रगति, जनतामा उनीहरुको लोकप्रियता, उनीहरुले लिने नीति तथा त्यसको प्रभाव, सरकारसँगको सम्बन्ध, मौद्रिक नीतिको प्रभावकारिता लगायतमा आधारित रहेर सार्वजनिक हुने यस्तो ग्रेडिङअन्तर्गत एशिया प्यासिफिक जोनमा नेपालका गभर्नर कमजोर देखिएका हुन् ।
सन् २०२१ मा उनले पाएको ग्रेड बी माइनस थियो । २०२२ मा उनको ग्रेड थप खस्किएर सीमा सीमित बन्न पुगेको हो ।
एशिया प्यासिफिकका केन्द्रीय बैंकका प्रमुखहरुको सूचीमा भारत, चीन, ताइवान र भियतनामले सबैभन्दा राम्रो ग्रेड अर्थात ए ग्रेड प्राप्त गरेका छन् ।
अफ्रिकी देश निकारागुवा, यूरोपको पोल्याण्ड र रोमानिया, यूनाइटेड किङडमका केन्द्रीय बैंकका प्रमुखहरुले पनि सी ग्रेड पाएका छन् । यो सूचीमा सबैभन्दा कमजोर ग्रेड अर्थात डी पाउने एक मात्र व्यक्ति टर्कीको केन्द्रीय बैंकका प्रमुख रहेका छन् ।





