काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा २४ घण्टे निषेधाज्ञा जारी गरिएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै धरान उपमहानगरपालिकामा १२ स्थानीय तहहरुमा डेंगी रोगका संक्रमण व्यापक फैलिई १६ हजार भन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो ।
साउन २६ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले धरान उपमहानगरमा डेंगी संक्रमण नियन्त्रणमा नआउञ्जेल जनस्वास्थ्य आपतकालीन अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरेको थियो ।
त्यस्तै, धरानमा धार्मिक साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरी भदौ ८ गते राति १२ बजेदेखि भोलिपल्ट ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनी नगर ६ बाट बराहक्षेत्र ३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फ, धरान ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
गोवध गरिएको भन्दै भोलि भदौ ९ गते धरानमा देशभरिबाट सनातनी हिन्दूले धरानमा विरोधसभा गर्ने गरी कार्यक्रम तय भएपछि सुनसरी प्रशासनले निषेधाज्ञा जारी गरेको अनुमान गरिएको छ ।
अर्थ सन्जाल