राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत केसीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृतविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार ती अधिकृतविरुद्ध मुद्दा दायर गर्दै माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एन्ड इन्टरमिडिएट एजुकेसनबाट जारी भएको भन्दै झुट्टा तथा नक्कली हाईस्कूल परीक्षाको प्रमाणपत्र पेस गरेको जनाएको छ । सोही प्रमाणपत्रका आधारमा उनले तत्कालीन समयमा राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

नक्कली प्रमाणपत्रकै आधारमा उनले सरकारी सेवामा निरन्तर पदोन्नति र त्यसबाट प्राप्त हुने विभिन्न सुविधा लिँदै आएको आयोगको दाबी छ । आयोगका अनुसार उनी २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत हुँदै २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए ।

यसरी झुट्टा शैक्षिक प्रमाणपत्रका आधारमा नियुक्ति तथा पदोन्नति लिई सरकारी सेवामा रही हैसियत, लाभ र सुविधा प्राप्त गरेको भन्दै आयोगले उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।

आयोगले आरोपित अधिकृतलाई कानुनबमोजिम कैद र जरिवाना दुवै सजाय गर्न मागदाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *