

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरुको नाफा ४४.४१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले ४ अर्ब ४७ करोड ४६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुको नाफा ३ अर्ब ९ करोड ८४ लाख १ हजार रुपैयाँ थियो । सञ्चालनमा रहेका १४ वटा बीमा कम्पनीमध्ये ९ वटा बीमा कम्पनीले नाफा बढाएका छन् । ५ वटा कम्पनीको भने नाफा घटेको छ ।
नाफा बढ्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, सन् नेपाल इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, आइएमई प्रुडेन्सियल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, सूर्य ज्योति लाइफ इन्स्योरेन्स, मेट लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स र राष्ट्रिय बिमा संस्थानको भने नाफामा गिरावट आएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म ३५ करोड २७ लाख रुपैयाँ नोक्सानमा रहेको नेपाल लाइफले यस अवधिसम्म ६७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको हो ।
त्यस्तै, दोस्रोमा बढी नाफा कमाउनेमा हिमालयन लाइफ रहेको छ । यो अवधिसम्म कम्पनीको नाफा ४२.५ प्रतिशतले बढेर ५८ करोड १३ लाख रुपैयाँ पुगेको छ।
यस्तै सन् नेपाल लाइफको नाफा १६३.९९ प्रतिशतले बढेर ५६ करोड ६५ लाख ३० हजार रुपैयाँ पुगेको छ ।
यस्तै प्रभु महालक्ष्मी लाइफको नाफा ४४.६६ प्रतिशतले बढेर १० करोड ५० लाख ८४ हजार, रिलायबल नेपालको नाफा ५७.२७ प्रतिशतले बढेर ४३ करोड २२ लाख ९९ हजार, आइएमई लाइफको नाफा ८७.१७ प्रतिशतले बढेर २४ करोड ८ लाख १३ हजार, सानिमा रिलायन्स लाइफको नाफा ३७.८८ प्रतिशतले बढेर २१ करोड ९३ लाख ८७ हजार रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ६५.८८ प्रतिशतले बढेर २० करोड ११ लाख २८ हजार पुगेको छ ।
त्यसैगरी, अघिल्लो आवमा नोक्सामा रहेको एलआईसी नेपालको नाफा १२ करोड ४६ लाख ७० हजार र नेपाल लाइफको ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ छ ।
यता, सूर्यज्योती लाइफको नाफा ३६.११ प्रतिशतले घटेर २९ करोड ४० लाख ९६ हजार, मेट लाइफको नाफा ३९.६५ प्रतिशतले घटेर ३५ करोड ९९ लाख ९३ हजार, नेसनल लाइइफको नाफा ५०.६८ प्रतिशतले घटेर ३६ करोड ४५ लाख ७४ हजार, एशियन लाइफको नाफा १७.६८ प्रतिशतले घटेर २४ करोड ६ हजार र राष्ट्रिय बिमा संस्थानको नाफा २.०७ प्रतिशतले घटेर ७ करोड २ लाख ६७ हजार रुपैयाँमा खुम्चिएको छ ।

अर्थ सन्जाल