मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, झन्डै ११ लाख आवेदकको हात खाली

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ आज भदौ ३ गते बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। क्यापिटलका अनुसार कुल १३ लाख १६ हजार ५२९ आवेदकबाट १ करोड ४३ लाख ६ हजार ७९० कित्ता सेयर माग भएको थियो । जसमा १३ लाख ११ हजार ५१७ आवेदकबाट परेको १ करोड ४२ लाख २४ हजार ७२० कित्ता सेयर सदर भएको थियो भने ५ हजार १२ आवेदकबाट परेको ८२ हजार ७० कित्ता बदर भएको थियो।

सदर भएको आवेदनमध्ये भाग्यमानी २ लाख २७ हजार ६६२ आवेदनले १० कित्ताका दरले सेयर हात पारेका छन् । १० लाख ८३ हजार ८५५ आवेदकको हात खाली भएको छ।

कम्पनीले गत साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर पनि थपिएको थियो।

सर्वसाधारणका लागि जारी गरिएको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र निष्कासन गर्ने कम्पनीको वेबसाइटमा र सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *