काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै सुस्ताएको घरजग्गाको कारोबार बढ्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कुल ३९ हजार २६३ लिखत पारित भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । २०७९ साउनमा ३३ हजार ८३४ लिखत पारित भएकोथियो ।
गत आर्थिक वर्ष २०७९/८० मा आर्थिक वर्ष २०७८/७९ मा करिब ३८ प्रतिशतले जग्गाको किनबेच घटेको थियो । तर, चालु आर्थिक वर्षको पहिलो महिनामा भने जग्गाको कारोबार बढेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा करिब ७ लाख ४५ हजार लिखत पास भएर घरजग्गाको कारोबार भएकोमा गत वर्ष यस्तो संख्या करिब ४ लाख ६३ हजारमा सीमित भएको थियो ।
साउनमा घरजग्गाको कारोबारबाट सरकारले करिब ३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा सकारले कुल २ अर्ब ९१ करोड ४ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गर्दा १ अर्ब १ करोड ३१ लाख ३३ हजार पूँजीगत लाभकरबाट राजस्व संकलन भएको हो ।
गत आर्थिक वर्षमा ४१ अर्ब १५ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा राजस्व संकलन ५७ अर्ब ६६ करोड ९९ लाख रुपैयाँ थियो ।




