त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था सुधारबारे अध्ययन गर्न कार्यदल बनाइने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र व्यवस्थापन सुधार र सुरक्षा अवस्थाबारे अध्ययन गर्न कार्यदल बनाइने भएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमबारे छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यदल बनाउने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने अवस्था आएको उल्लेख गरे । ‘विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे हामीले गम्भीर समीक्षा र अध्ययन गर्ने बेला भएको छ’,उनले भने, ‘छिट्टै विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइन्छ । त्यो कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर ल्याउनुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा भएका विगतका कमीकमजोरी सच्याउनेतर्फ ध्यान दिन आग्रह गरे । ‘हामी गम्भीर विषयमा छलफल गरिरहेका छौं । हामीले स्थितिको गम्भीर समीक्षा गरेर अगाडि कसरी बढ्ने, विगतका कमीकमजोरी कसरी सच्याउने भन्नेतिर हाम्रो ध्यान जानुपर्छ । नकारात्मक चीजलाई शिक्षाका रूपमा लिएर अगाडि बढाउनुपर्छ । सोच, संरचना, कार्यविभाजन र कार्यशैलीमा सुधार गर्नेतिर जोड गर्नुपर्छ’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उनको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अपराधमा नयाँ नयाँ प्रविधि र तौरतरिकाको प्रयोग भएको भन्दै देशको समग्र सुरक्षा अवस्था र चुनौतीबारे गम्भीर अध्ययन गरी त्यसका आधारमा नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अर्थमन्त्री प्रकाशशरण महतले सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन राज्यका निकायहरूबीच अन्तरनिकाय समन्वय थप चुस्त बनाउनुपर्नेमा जोड दिँदै राज्यका सबै निकायमा दण्ड र पुरस्कारको व्यवस्था गरेर जानुपर्ने बताए ।

छलफलमा गृहसचिव दिनेश भट्टराईले त्रिभुवन विमानस्थललगायत देशभरिका विमानस्थलको अवस्था, सुरक्षा व्यवस्थापन, विमानस्थलमा कार्यरत कार्यालय र निकायहरूको कार्यजिम्मेवारी एवं वर्तमान अवस्था्लगायत सुरक्षा चुनौती र सरकारले निगरानी राख्नुपर्ने विषयहरूमा आफ्नो प्रस्तुति राख्दै देशको समग्र सुरक्षा स्थिति सामान्य अवस्थामा रहेको ब्रिफिङ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *