माण्डु हाइड्रोको नाफा चार गुणाभन्दा बढी, पहिलो त्रैमासमै २१ करोड ७० लाख कमायो

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३३१.९५ प्रतिशतले बढाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २१ करोड ७० लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ५ करोड २ लाख ५७ हजार रुपैयाँ थियो ।

कम्पनीको नाफामा भएको उच्च वृद्धिमा विद्युत् बिक्री आम्दानी बढ्नु मुख्य कारण देखिएको छ । समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ३४ करोड २९ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १६ करोड ६४ लाख २२ हजार रुपैयाँ थियो ।

विद्युत् बिक्री आम्दानी बढेसँगै कम्पनीको कुल आम्दानी पनि दोब्बरभन्दा बढी भएको छ । गत वर्ष १६ करोड ६४ लाख २५ हजार रुपैयाँ रहेको कुल आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ३० लाख ५५ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३१ करोड ३९ लाख ३३ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ रुपैयाँ ६९ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा १४ रुपैयाँ ४७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात ५४.३८ गुणा रहेको छ ।

असोज मसान्तसम्म कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ पुगेको छ । जगेडा कोष तथा सञ्चित मुनाफा ५९ करोड ७३ लाख ९५ हजार रुपैयाँ रहेको छ । कम्पनीको चालु अनुपात ०.८२ र सम्पत्तिमा प्रतिफल ४.१३ प्रतिशत छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर बजार मूल्य ७८७ रुपैयाँ रहेको छ ।

माण्डु हाइड्रोपावरले बागमती साना जलविद्युत् आयोजनाअन्तर्गत २२ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले थप १० मेगावाट क्षमता विस्तार गरी आयोजनाको कुल उत्पादन क्षमता ३२ मेगावाट पुर्‍याउने प्रक्रिया अघि बढाएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरणबाट आवश्यक अनुमति लिनुका साथै विद्युत् खरिद सम्झौतासमेत गरिसकेको कम्पनीले जनाएको छ ।

प्राकृतिक विपत्तिका कारण आयोजनामा क्षति पुगेपछि पुनर्निर्माण गरिएको र हाल विद्युत् उत्पादन नियमित भइसकेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । उत्पादन नियमित भएसँगै विद्युत् बिक्री आम्दानी बढेको र त्यसको प्रभाव नाफामा देखिएको कम्पनीको विवरणले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *