काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले भदौ ८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
जसअनुसार प्रत्येक एक कित्ता हुने सेयरधनीले एक कित्ता हकप्रदको लागि आवेदन दिन पाउनेछन् । कम्पनीले १०० रुपैयाँका दरले एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता बिक्री गर्ने जनाएको छ।
कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ असार २५ गते बुकक्लोज गरिसकेको छ । यस अनुसार असार २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा भदौ २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले काबेली जलविद्यूत परियोजनाको निर्माण कार्य सम्पन्न गरी २०७६ असोज १६ गतेदेखि राष्ट्रिय ग्रीडमा विद्युत आपूर्ति गरिरहेको छ। कम्पनीले सोही वर्षको असोज २३ गतेदेखि व्यापारिक उत्पादन गरी नियमित विद्युत बिक्री गरिरहेको छ।
कम्पनीले हकप्रद सेयर निष्काशनबाट संकलन भएको रकममा ६५ करोड ५२ लाख रुपैयाँ काबेली बि १ जलविद्युत आयोजना निर्माणका लागि बैंकबाट लिएको दीर्घकालिन ऋण आंशिक तिर्न तथा १२० करोड रुपैयाँ काबेली इनर्जी लिमिटेडले निर्माण गरी काबेली ए जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्ने योजना रहेको छ।
कम्पनीले काबेली बि १ जलविद्युत परियोजना निर्माणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ३६० करोड रुपैयाँ दीर्घकालिन ऋण प्राप्त गरेको थियो । सोमध्ये ३१० करोड रुपैयाँ कर्जा तिर्न बाँकी रहेको कम्पनीले बताएको छ।







