नयाँ आर्थिक वर्षका ३ साता : आम्दानी ४४ अर्ब, खर्च साढे ४ अर्ब

काठमाडौं । अन्य महिनामा आम्दानीभन्दा बढी खर्च गर्ने सरकारले साउनको तेस्रो सातासम्ममा भने खर्चभन्दा बढी आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०८०-८१ को तेस्रो सातामा सरकारले ४४ अर्ब ३ करोड ९७ लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने १६ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ मात्र गरेको छ ।

अपेक्षित राजस्व संकलन गर्न नसक्दा बर्सेनि ऋण थप्दै घाटा बजेट ल्याउँदै गरेको सरकारले चालू आवका लागि पनि घाटा बजेट नै ल्याएको थियो ।

सरकारले चालू आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने अनुमान गरेको छ भने आम्दानी १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ गर्ने लक्ष्य लिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले राजस्वबाट १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको छ । गत आवमा कुल १४ खर्ब ५८ अर्ब ६० करोड ५३ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले ९ खर्ब ५७ अर्ब १५ करोड ४१ लाख रुपैयाँबराबर मात्रै राजस्व उठाउन सकेको थियो । जसले गर्दा राष्ट्रको आम्दानीभन्दा खर्च बढ्न गई वैदैशिक कर्जा बढ्न गएको थियो ।

चालू आवमा पनि यही सिलसिला चल्ने अर्थविदहरूको भनाइ छ । यसपालि पनि १० खर्बभन्दा बढी राजस्व उठाउन नसक्ने आँकलन गरिएको छ । तथापि, आव सुरु भएको २२ दिनसम्ममा सरकारले कुल लक्ष्यको ३ प्रतिशत आम्दानी गरिसकेको छ । राजस्व भने कुल लक्ष्यको २ दशमलव ५७ प्रतिशत उठाइसकेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंगलबारसम्म ३६ अर्ब ५३ करोड ७१ लाख राजस्व उठेको छ । १३ खर्ब ५ अर्ब ४७ करोड कर राजस्व उठाउने लक्ष्य राखेको सरकारले सो शीर्षकमा मंगलबारसम्म २ दशमलव ६८ प्रतिशत राजस्व उठाएको छ । कर राजस्वतर्फ ३४ अर्ब ९७ करोड ६७ लाख राजस्व उठेको हो । यसैगरी, गैरराजस्वतर्फ भने १ अर्ब ५६ करोड ४ लाख रुपैयाँ उठेको छ । सो शीर्षकमा १ खर्ब १७ अर्ब ६ करोड उठाउने लक्ष्य सरकारले लिएको छ ।

सरकारले गत १५ जेठमा ल्याएको बजेटनुसार ४९ अर्ब ९४ करोड ३० लाख वैदेशिक अनुदान ल्याउने अनुमान गरेकामा हालसम्मको प्रगति भने शून्य रहेको छ । अन्य सहयोगबाट भने सरकारले ७ अर्ब ५० करोड २६ लाख रुपैयाँ प्राप्त गरिसकेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले २२ साउनसम्म चालू खर्चतर्फ ४ अर्ब ४७ करोड ९३ लाख खर्च गरिसकेको छ । सरकारले चालू खर्चका लागि ९ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *