काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडका संस्थापक सेयरधनी आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएका छन् । यो क्रम प्राइम बैंकमा नियमिति चल्दै आएको छ।
जसअनुसार बैंक छोड्न चाहने सेयरधनीको संस्थापक सेयर बिक्रीमा राख्दै इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिनभित्र खरिदका लागि आवेदन दिन बैंकले आग्रह गरेको छ । तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाले जो सुकैले पनि उक्त सेयर खरिद गर्न पाउनेछन् ।
बैंक सञ्चालक समितिको असोज १९ गते बसेको ५७३औँ बैठकको निर्णयअनुसार बिक्रीमा राखिएको उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक विवरणसहित बैंकको कम्पनी सचिवको कार्यालयमा लिखित निवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित नियमअनुसार अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।





