संसदमा योगेश भट्टराईको प्रश्न : सुन प्रकरणमा गृहमन्त्रीसँग बयान कसले लिन्छ ?

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेता मुछिँदा उनीमाथि किन अनुसन्धान नगरेको भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिन नबने कसले बयान लिन्छ भनेर प्रश्न गरे ।

एक क्वीन्टल बढी सुन तस्करी भएको २२ दिन भइसकेको बताउँदै त्यसमा गृहमन्त्रीकै संलग्नताको शंका रहेको दाबी गर्दै उनले भने–‘गृहमन्त्रीजी तपाई राजनीतिक कमिसार, तपाईँको फिल्ड कमिसार को छ ? तपाईँको आदेश फिल्ड कमिसारले मानेको छैन कि ? कि फिल्ड कमिसारको सूचना तपाईँले भेरीफाई गर्नुभएको छैन ? हामीलाई गम्भीर शंका छ । त्यसकारण गृहमन्त्रीसँग बयान कसले लिन्छ ? के सीआईबीले लिन्छ ? के राजस्व अनुसन्धानले लिन्छ ?’

अर्थमन्त्रीमाथि पनि शंका रहेको उल्लेख गर्दै भट्टराईले भने–‘अर्थमन्त्रीमाथि हाम्रो प्रश्न छ, प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ, राष्ट्रिय अनुसन्धान आयोगमाथि शंका छ । यत्रा निकाय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा यी कहाँ सुतेका थिए ? यिनीहरुमाथि प्रश्न कसले उठाउँछ ? सीआईबीले उठाउँछ ? उठायो ? भन्सार विभागले उठायो ? यी तमाम कुराको छानबिन नगरी तथ्य पत्ता लाग्दैन ।’

उनले प्रतिपक्षी बेन्चको एकमत धारणा अनुसार उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्ने रहेको उल्लेख गर्दै छानबिन समितिको पक्ष र विपक्षमा सभामुखलाई भोटिङ गराउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *