काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८०मा खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेर १० अर्ब २५ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो।
बैंकको सञ्चालन मुनाफा ४७.५२ प्रतिशतले बढेर ४ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ७४ करोड रुपैयाँ थियो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख रुपैयाँ मात्र रहेको छ । यस अनुसार बैंकको प्रतिशेयर ६९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । अर्थात बैंकको लाभांश क्षमता ०.६९ प्रतिशत रहेको छ।
यस अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) १.८६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ । बैंकको खराब कर्जा ह्वात्तै बढ्दा इम्पेयरमेन्ट चार्ज पनि बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। जसको असर बैंकको वितरणयोग्य मुनाफामा परेको छ ।
२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब १८ करोड २५ लाख रुपैयाँ सञ्चित छ।यस अवधिमा बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर १२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.९७ रुपैयाँ थियो। पीई रेसियो १३.१३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४३.२५ रुपैयाँ रहेको छ।




