हिमालयन बैंकको नाफा ३७.९६ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा भने ऋणात्मक

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले स्सार्वाजनिक गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचक सकारात्मक छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको खुद नाफा ३७.९६ प्रतिशतले बढेर ३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी १००.९५ प्रतिशतले बढेर ९ अर्ब ९३ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन मुनाफा ११४.८१ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ५५ करोड रुपैयाँ थियो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७१ करोड १४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज पनि ह्वात्तै बढ्दा वितरणयोग्य मुनाफा नकारात्मक बनेको हो।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.५७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल १.५९ प्रतिशत थियो । बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १ अर्ब २८ करोड रुपैयाँ थियो।

२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब २० करोड ३४ लाख रुपैयाँ सञ्चित छ । यो अवधिमा बैंकले २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १९.१९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.२६ रुपैयाँ थियो। पीई रेसियो ११.०९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६५.५८ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *