ग्लोबल आइएमई बैंकको नाफा ७ अर्ब बढी, लाभांश क्षमता कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले असार मसान्तसम्ममा ७ अर्बभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको खुद नाफा ४६.२६ प्रतिशतले बढेर ७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ६६.३६ प्रतिशतले बढेर १७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १० अर्ब २८ करोड रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन मुनाफा ४४.२६ प्रतिशतले १० अर्ब ३६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ थियो ।

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। बैंकको चुक्तापुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । यसले बैंकको लाभांश क्षमता ८ प्रतिशत बढी रहेको देखाउँछ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.०८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.२८ प्रतिशत थियो । बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो चार्ज ४६ करोड ६४ लाख रुपैयाँमा सीमित थियो ।

३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ सञ्चित छ । बैंकले ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *