काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । असार मसान्तसम्म बैंकको खुद नाफामा सामान्य वृद्धि भएको छ ।
असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेरमेन्ट चार्ज बढेपछि खुद नाफामा केही दबाब पुगेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशतले बढेर ८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो।
बैंकको सञ्चालन मुनाफा ४.११ प्रतिशतले बढेर ४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ४ अर्ब ६५ करोड रुपैयाँ थियो ।
बैंकको खुद फि तथा कमिशन आम्दानी ५.०४ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २१.०१ प्रतिशत बढेको छ ।
बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ । यस अनुसार बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि ६५ पैसा बढेर १८ रुपैयाँ ५७ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात १२.१७ गुणा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ७९ पैसा रहेको छ।
१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकले २ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।




