काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले खुद नाफा २५.१३ प्रतिशतले बढाएर २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिसम्म बैंकको वितरण योग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेर ६ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सो अवधिसम्म बैंकको यस्तो आम्दानी ४ अर्ब ६५ करोड १७ लाख रुपैयाँ रहेको थियो ।
बैंकको सञ्चालन मुनाफा २७.९६ प्रतिशत बढेर ३ अर्ब ७८ करोड ६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सो अवधिमा बैंकको यस्तो मुनाफा २ अर्ब ९५ करोड ४५ लाख रुपैयाँमा सीमित थियो ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर २१ रुपैयाँ २ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा रहेको छ।
१२ अर्ब ४६ करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ सञ्चित छ।




