

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल सामखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरेका छन् ।
आज प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसद पौडेलले सामाखुशी क्षेत्रमा बाढीका कारण हरेक वर्ष मानवीय क्षती हुने गरेको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।
चक्रपथ विस्तारका क्रममा भइरहेको काम वर्षा लागेपछि रोकिँदा सामाखुशी क्षेत्र डुबानमा परेकाले तत्काल त्यहाँको ढल व्यवस्थापन गर्नुपर्ने पौडेलले जोड दिए ।
ढलको उचित व्यवस्थापन गरेर विष्णुमतिमा पानी पुर्याए सामाखुशी खोलामा जाने करिब ४० प्रतिशत पानी व्यवस्थापन हुने र त्यसले सो क्षेत्रलाई डुबानबाट बचाउन सकिने उनको भनाई थियो ।
बाटोनै खोलाजस्तो भएपछि १३ वर्षका साजन मगर बाटोमा हिँड्दाहिँड्दै साउन ७ गतेबाट बेपत्ता भएको भन्दै सांसद पौडेलले बेपत्ता बालकको खोजी कार्यमा तिव्रता दिन पनि सरोकारवालाको ध्यानाकर्षण गराए । “खाल्डो खनेर हिम पाइप ढल बग्ने गरि अस्थायी रुपमा राख्ने व्यवस्थापन तत्काल गरियोस्,” पौडेलले भने,“बेपत्ता बालकको खोजी र उनको परिवारलाई क्षतीपूर्ति दिइयोस् । म यहि अनुरोध गर्न चाहन्छु ।”

अर्थ सन्जाल