काठमाडौं । टिम भेन्चर्सले हिमालय क्यापिटल लिमिटेडलाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आंशिक सेयर बिक्री गरेको छ । यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटले संयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
टिम भेन्चर्स ऊर्जा, प्रविधि, घर–जग्गा, निर्माण, स्टार्टअप, कृषि पुर्वाधार र विद्युतीय सवारीजस्ता नाफामूलक क्षेत्रमा विधिधीकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनी हो । फुडमाण्डुमा टिम भेन्चर्सले सन् २०२० मा सिरिज बीअन्तर्गतको संस्थागत लगानी गरेको थियो ।
टिम भेन्चर्सको यस रणनीतिक लगानीले फुडमाण्डुलाई ग्राहक र रेस्टुरेन्टसहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको छ । झन्डै दुई वर्षको छोटो अवधिमै टिम भेन्चर्सले आफ्नो आंशिक लगानी दुई गुणाको प्रतिफलसहित बिक्री गर्न सफल भएको छ ।
सन् २०१० मा स्थापना भएको फुडमाण्डु नेपालको सबैभन्दा ठूलो अनलाइन फुड डेलिभरी (रेस्टुरेन्टमा आधारित खाद्य तथा खानाजन्य वस्तु बिक्रीवितरण गर्ने कम्पनीका रुपमा कार्य गर्दै आएको छ । यस कम्पनीले ट्रु नर्थ एसोसिएट्सबाट सन् २०१७ मा सिरिज ए फन्डिङअन्तर्गत लगानी प्राप्त गरेको थियो ।
त्यसैगरी टिम भेन्चर्सबाट सन् २०२० मा सिरिज बी फन्डिङअन्तर्गत लगानी प्राप्त गर्न सफल फुडमाण्डुले सन् २०२३ मा सिरिज सी फन्डिङअन्तर्गत डोल्मा इम्प्याक्ट फन्ड आईआईमार्फत झन्डै ४ मिलियन अमेरिकी डलरबराबरको लगानी प्राप्त गर्न सफल भएको थियो ।
हिमालयन क्यापिटल हिमालयन बैंक लिमिटेडको पूर्ण स्वामित्वको सहायक कम्पनीका रुपमा स्थापित नेपालको एक अग्रिणी मर्चेन्ट बैंक हो ।
हिमालयन क्यापिटलले वित्तीय व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवाजस्ता विशिष्टीकृत वित्तिय तथा लगानी सेवाहरु प्रदान गर्दै आएको छ ।




