काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले दर्जन बढी पर्यटनसम्बद्ध संघसंगठनका नेतृत्वसँग अन्तरक्रियात्मक छलफल गरेका छन् । नेकपा (माओवादी केन्द्र)को पर्यटन प्रवर्द्धन तथा नागरिक उडडयन विभागले आइतबार ठमेलस्थित काठमाडौं गार्डेन होममा गरेकाे कार्यक्रमबीच सर्वपक्षीय अन्तरक्रियात्मक छलफल भएको हो ।
छलफलमा अभिलम्ब नयाँ पर्यटन ऐन ल्याउनुपर्ने, संघीय पर्यटन ऐन र प्रदेश पर्यटन ऐनबीचको अन्यौलता स्पष्ट पारिनुपर्ने, तथा सिंगो पर्यटकीय सेवाप्रदायक क्षेत्रमा सरकारले लागु गरेको भ्याट समस्याको दीर्घकालिन समाधान गर्नुपर्ने, राष्ट्रिय ध्वजावहाक नेपाल वायूसेवा निगमको पछिल्लो सुधारोन्मुख अवस्थालाई पूर्णता दिइनुपर्नेलगायतमा विषय उठेकाे थियाे ।
यस्तै हेलिकप्टर कम्पनीको सन्दर्भमा भएको निर्णय सुधार्नुपर्ने, पर्यटन बोर्डको बजेट समग्र पर्यटन क्षेत्रको हितमा नभएकाले यसमाथि पुनर्विचार गर्नुका साथै पछिल्लो अवस्थामा बोर्डको औचित्य माथि नै गम्भीर प्रश्नचिन्ह खडा भएकाले यसको नीतिगत र संरचनागत सुधार गर्नुपर्ने, विमानस्थलको आवश्यक सुधार, पर्यटक यातायात क्षेत्रको नीतिगत एवं कार्यान्वयनगत समस्या, पर्यटक बसपार्क तथा पर्यटक यातायात पार्किङ समस्या, ग्रामिण पर्यटन प्रवर्द्धनलाई थप जोड दिइनुपर्नेबारे पनि सहभागीहरुले कुरा उठाएका थिए ।
जवाफमा मन्त्री किरातीले पर्यटन क्षेत्रलाई निकाश दिन आफू जुनसुकै मुल्य चुकाउन पनि तयार रहेको उल्लेख गर्दै आफ्नो अभियानमा साथ दिन सबैलाई आग्रह गरे । नीतिगत समस्याका साथै विगतको अभ्यास र काम कार्यशैलीका कारण चाहेर पनि सोचेको जस्तो काम गर्न नसकेपनि केही ठाउँमा कामको सुरुवात भएको र यसलाई तीव्र गतिमा अघि बढाउन लागिरहेको उनकाे भनाइ थियाे ।
अर्थ सन्जाल