ललिता निवास प्रकरण : पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

सीआइबीले उनीहरूसँग अहिले बयान लिने काम जारी राखेको छ । उक्त घटनामा प्रहरीले विगत एक महिनादेखि अनुसन्धान गरिरहेको छ । कीर्ते तथा संगठितरूपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वसरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत २२ जना पक्राउ परेका थिए ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सीआइबीले अनुसन्धान गरिरहेको छ ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएपछि ब्यूरोले पुनः अनुसन्धान थालेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *