मौद्रिक नीति प्रभाव : लगानीकर्ताको उत्साह टिकेन, २ दिनमै ६२ अंकले घट्यो नेप्से

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको दिन सेयर बजारमा उछाल पनि त्यो उछाल भने टिक्न सकेको छैन । सोमबार घटेको बजारमा आज पनि ओरालो यात्राले नै निरन्तरता पाएको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिकको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिम भारमा पुनरवलोकन गर्ने बताएको थियो ।

राष्ट्र बैंकको उक्त घोषणालाई लगानीकर्ताले २५ लाखभन्दा बढी सबै सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटेर एक सय प्रतिशतमा झर्ने बुझेका थिए । तर सोही दिन नेप्से बन्द भएपछि पत्रकार सम्मेलन गर्दै गभर्नर महाप्रसाद अधिकारीले सबै सेयर धितो कर्जाको जोखिम भार घट्ने नभई ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार मात्रै १०० प्रतिशतमा झार्ने जानकारी दिएका थिए । ५० लाखभन्दा माथिको सेयर धितो कर्जाको जोखिम भार यथातव रहेको उनले बताएका थिए ।

सेयर धितो कर्जाको जोखिम भारमा केही खुकुलो गरिएको भए पनि लगानीकर्ता भने उत्साहित भएको देखिदैन । उनीहरुको बुझाई र मौद्रिक नीतिको व्यवस्था अलग भएपछि लगानीकर्तामा नैराश्यता देखिएको छ । सानो कर्जामा मात्रै जोखिम भार घटेको हुँदा बजारको वृद्धि दिगो नरहने लगानीकर्ताको बुझाई छ ।

आइतबार मौद्रिक नीतिपछि सेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ को बिन्दुमा बन्द भएको थियो । सोमबार बजारमा २६.६६ अंकको गिरावट भएको आयो ।

बजारको गिरावटले आज पनि निरन्तरता पाएको छ । २ दिनको अवधिमा बजारमा ६२.८५ अंकको गिरावट आएको छ । आज (मंगलबार) सेयर बजार पान नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा झरेको छ ।

कारोबार अवधिभर २६७ कम्पनीको ७७ लाख १६ हजार २२७ कम्पनीको सेयर कारोबार भयो । यस दिन २ अर्ब ९१ करोड ७ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज होटल र पर्यटन समूहबाहेक सबै इन्डेक्स घटेको छ । होटेल तथा पर्यटन समूह १.२२ प्रतिशतले उकालो लागेको छ।

त्यसैगरी, बैंकिङ समूह सर्वाधिक २.७५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह २.०८ प्रतिशतले घट्दा वित्त समूहमा १.८७ प्रतिशत, जलविद्युत समूहमा १.०९ प्रतिशत, लगानी समूहमा १.३६ प्रतिशत, जीवन बीमा समूहमा १.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२२ प्रतिशत, लघुवित्त समूहमा ०.८९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९५ प्रतिशत, अन्य समूहमा १.७२ प्रतिशत र व्यापार समूहमा ०.१२ प्रतिशतको गिरावट आएको छ।

सोल्टी होटेलको सर्वाधिक १५ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

१७६ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ३२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ ।

 

 

 

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *