काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा लिएका छन्। मंगलबार काठमाडौंको बबरमहलस्थीत मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा पुगेर मन्त्रीद्वयले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावबाट नेपालमा पर्न सक्ने असरका बारेमा जानकारी लिएका हुन्। सो क्रममा बिभागका मौसमविद्हरुले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको र देशका बिभिन्न स्थानमा पर्न सक्ने असरमा बारेमा जानकारी गराएका थिए।
छलफलपछि गृहमन्त्री सुधन गुरुङले विगतको विपद्बाट पाठ सिकेर सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र योजना बनाउनका लागि आगामी मौसमी प्रणालीकाबारे जानकारी लिइएको बताए। उनले आगामी ८ देखि १२ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन भनिएको र नदी किनार तथा जोखिमयुक्त क्षेत्रहरूमा टोली परिचालन गर्न र स्थानीय नागरिकहरूलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको जानकारी दिए।
त्यस्तै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनका लागि पूर्वतयारी र पूर्वसूचनामा समन्वयात्मक रूपमा काम भइरहेको जानकारी दिए। बंगालबाट आएको मौसमी बहावका कारण कृषि, पर्यटन तथा यात्रुहरू सबै क्षेत्र प्रभावित हुन सक्ने आँकलन गरिएको उनको भनाइ छ। साथै उनले चाडबाडको समय भएकाले यात्रा गर्नुअघि मौसम र सडकको पर्याप्त जानकारी लिएर मात्र निस्कन र असोज १२ गतेसम्म मौसम तथा विपद् सम्बन्धी जारी हुने अलर्ट र सूचनाहरूलाई हल्का रूपमा नलिन र कडाइका साथ पालना गर्न अनुरोध गरिएको बताए।
मन्त्री श्रेष्ठले विगतको विपद्बाट पाठ सिकेर सम्भावित जोखिम क्षेत्रहरूमा उद्धारकर्मी तथा सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको बताए। अघिल्लो विपद्मा हाइड्रोपावरहरूमा ठूलो क्षति पुगेको सन्दर्भमा यसपटक जल तथा मौसम पूर्वानुमान महाशाखाबाट निजी क्षेत्र तथा नेपाल विद्युत प्राधिकरणलाई निरन्तर सूचना प्रवाह गर्ने प्रणाली मिलाइएको समेत उनले जानकारी दिए।




