काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न थप ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले भन्सार अधिकृतसहित ३ कर्मचारी र थप ३ एजेन्टलाई पक्राउ गरेको हो ।
विमानस्थल भन्सारबाट तस्करीको सुन पार गराएको आरोपमा विभागले विमानस्थल भन्सारका अधिकृत सन्तोष चन्द, जाँचकी (खरिदार) कुमार ढकाल र एक्स–रे प्राविधिक सरोज श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो । त्यस्तै भन्सार एजेन्टहरु झापा गौरादहकी रुक्मिला सुब्बा, चितवन मेघौलीका सुदर्शन गौतम र सिन्धुपाल्चोक बलेफीका यादव पराजुली पक्राउ परेका हुन् ।
मंगलबार विभागले भन्सार जाँच पास गरी बाहिरिएको करिब १ क्विन्टल सुनसहित २ जनालाई पक्राउ गरेको थियो । त्यसपछि बुधबार र बिहीबारको अनुसन्धानमा एक भारतीय र एक चिनियाँसहित आठ जना यही प्रकरणमा पक्राउ परेका थिए । अनुसन्धानका क्रममा विमानस्थल भन्सार अधिकृत चन्द, खरिदारद्वय ढकाल र श्रेष्ठ निलम्बनमा परेका थिए ।
निलम्बित ३ कर्मचारी र अन्य ३ एजेन्टलाई आइतबार पक्राउ गरिएको हो । मंगलबार नै भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल र उनका मामा रामकुमार भुजेल, त्यसपछि हर्कराज राई, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्करराज भट्ट पक्राउ परेका थिए ।
त्यही क्रममा आइतबार ६ जनालाई पक्राउ गरिएको हो । यससँगै सुन तस्करी प्रकणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।




