काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरूप दिएको छ।
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको उपस्थितिमा आइतबार ती एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे। विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी, समाजसेवी आदिको सहभागीतामा एम्बुलेन्स तथा बस वितरण गरिएको थियो ।

भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ। राजदूत श्रीवस्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरणबाट स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न सहयोग पुग्ने उल्लेख गरे । त्यस्तै, नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारले धेरै पहिल्यैदेखि नेपालमा यस्ता विभिन्न सहयोग गरिरहेको श्रीवास्तवले बताए ।
समारोहमा बोल्दै मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे। उनले ती परियोजनाले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताए। मन्त्री राईले नेपालको हिमालदेखि तराईसम्मका विद्यालय तथा स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा भारत सरकारको प्रशंसा गरे।
सन् १९९४ यता भारतले आजको सहित हालसम्म नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न संघ संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरूप उपलब्ध गराइसकेको छ।








