शिक्षा हबको रुपमा पुतलीसडकमा नवीलको २५६ औं शाखा, शैक्षिक कर्जा र सेवा प्राथमिकतामा

 

काठमाडौं। नबिल बैंक लिमिटेडले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन गरेको हो ।

शिक्षा हबका रूपमा स्थापित नयाँ शाखा शुक्रबारबाटै सञ्चालनमा आएको छ । शाखा उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रुपमा रिबन काटी गरेका थिए ।

सो क्रममा बोल्दै निर्देशक पौड्यालले परामर्श हबका रुपमा परिचित पुतलीसडकमा नबिलको शिक्षा हबले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्रहरुलाई उत्तम सेवा दिने दाबी गरे।

शैक्षिक कर्जा लगायत चाहिने अरु सम्पूर्ण बैंकिङ सेवा एकै ठाउँबाट दिने उद्देश्यका साथ यो शाखा उद्घाटन गरिएको सीईओ ढुंगानाले बताए । उनले सेवाग्राहीको मागलाई सम्बोधन गर्न नयाँ शाखा विस्तार गरिएकोे जनाए । विद्यार्थीहरूका लागि शैक्षिक गतिविधि र उनीहरूको गन्तव्य देशको यात्राको लागि बैंकिङ पहुँच दिने र दायरा विस्तार गर्ने अन्य परिष्कृत सेवाहरू प्रदान गर्ने विषयमा बैंक प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

नयाँ शाखाको विशेष प्राथमिकता शैक्षिक कर्जामा हुने बताउँदै शाखा प्रमुख विनय देवकोटाले सेवाग्राही विद्यार्थी, अभिभावक तथा परामर्शदाताहरुलाई सरल बैकिङ सेवा प्रदान गर्न सधैं तत्पर रहने बताए ।

शिक्षा हबका रुपमा रहेको नबिल बैंकको यस शाखाले आइल्स, टोफेल, जिएरआई, एसएटी लगायतका परीक्षाको दर्ता शुल्क, भिसा प्रक्रिया शुल्कको, कलेज तथा विश्वविद्यालयहरूमा ट्यूशन शुल्क र अन्य शुल्कहरूको लागि विदेशी मुद्रा विनिमय दिने लगायतका सुविधा दिने उल्लेख गरिएको छ । त्यस्तै विदेशी विद्यार्थीको स्वास्थ्य बीमाको भुक्तानी समेत गर्न सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *