काठमाडौं । कोरोनाको समय थियो । लकडाउनका कारण सबै व्यापार व्यवसाय ठप्प थिए । सम्भावनाका सबै ढोकाहरु बन्द थिए । मानिसहरु के गर्ने के नगर्ने भन्नेमै अलमलिरहेका थिए । कतिपयलाई व्यवसाय कसरी चलाउने भन्ने चिन्ता त कतिपयलाई कुन व्यवसाय कसरी सुरु गर्ने भन्ने दुबिधा थियो । तर लकडाउन, कोरोना महामारी र यही फुर्सदको समयलाई अवसरको रुपमा लिनेहरु भने नभएका होईनन्। यसैबीच उक्त महामारी र लकडाउनको समयलाई सदुपयोग गर्नेहरु पनि धेरै छन् । त्यसैमध्येकी एक हुन्, ललितपुर–३१ हरिसिद्धिकी दिव्या महर्जन । माइक्रोबायोलोजिस्ट दिव्यालाई लकडाउनले भने उद्यमी बन्ने ढोका खुला गरिदियो ।
कोरोनाको समयमा दिव्यासहित फार्मासिस्ट अमित श्रेत्री र मेकानिकल इन्जिनियर संजय श्रेष्ठ गरी ३ जना साथि मिलेर ’एका कम्बुचा’ नेपाली बजारमा पस्कन थाले । ३ साथीले ५ लाख लगानीमा सुरु गरेको लगानी अहिले साढे २ वर्षमा एक करोडको पुगेको छ । ‘कम्बुचा’ कालो चियालाई फर्र्मेन्टेशन गरेर उत्पादन गरिने स्वास्थ्यवर्द्धक पेय पदार्थ हो । भमिसा फुड एण्ड बेभरेज उद्योगबाट उत्पादित ‘एका कम्बुचा’ अहिले देशका विभिन्न ठुला मार्टबाट बिक्री हुने गरेको दिव्या बताउँछिन् । एका कम्बुचामा पाँच वटा स्वादमा पाइन्छ । तीमध्ये भुईंकटहर, गुर्जो, मिन्ट, ब्लु जिन्जर, स्ट्रबेरी अहिले बजारमा उपलब्ध छ ।

कम्बुचामै दिव्याको पाइला रोकिएन । माइक्रोबायोलोजिस्ट दिव्याले थेसिसको क्रममा घाउमा लगाउने क्रिमहरु बनाउन थालिन् । त्यहीबेला उनलाई स्किन केयर प्रडक्ट पनि यहीँ उत्पादन गर्न सकिने रहेछ भन्ने लाग्यो । अनि जन्मियो न्यूट्रासमेटिक इन्ड्रष्ट्रीज । जहाँबाट विभिन्न स्किन केयर सामाग्रीहरु उत्पादन गरिन्छ । सुरु सुरुमा कठिनाइ भोग्नु परे पनि अहिले भने कामप्रति सन्तुष्टि र आत्मविश्वास झनै बढ्दै गएको दिव्या बताउँछिन् । उनको आत्मविश्वास बढाउन नबिल बैंकले ठूलो भूमिका खेलेको उनको भनाई छ।
नबिल बैंकद्वारा सञ्चालित ’नबिल एसएसई’ बाट फेलोसिप बनेकी दिव्याले ६ महिनाको अवधिमा सफल उद्यमी हुनको लागि चाहिने विभिन्न ज्ञान हासिल गरेकी थिइन् । दिव्याले व्यवसाय सुरु त गरिन तर मार्केटिङ कसरी गर्ने, अरुभन्दा फरक र प्रतिस्पर्धात्मक कसरी बन्ने, ग्राहकलाई कसरी विश्वास दिलाउने भन्नेबारे त्यति धेरै आइडिया थिएन। तर उनलाई ‘नबिल स्कूल अफ सोशल इन्टरप्रेन्योरशिप’ मा भाग लिएपछि यी कुराहरुको जानकारी मात्र मिलेन उनलाई थप हिम्मत आत्मविश्वास अनि हौसला समेत बढ्यो ।

उनी भन्छिन्, ‘हामीले त वस्तु उत्पादन मात्र गरिरहेका रहेछौँ, ग्राहकको समस्या बुझ्न सकिराखेका रहेनछौँ त्यहाँ गएपछि ग्राहकको समस्यालाई पनि मध्येनजर गर्नुपर्ने रहेछ भन्ने महसुस भयो । बिजनेसलाई कसरी ग्रो गर्ने भन्ने आइडिया पनि खासै थिएन । त्यहाँ गएपछि यी सबै कुरा जान्ने मौका मिल्यो।’
उद्योगी भइसकेपछि समाजलाई कस्तो प्रभाव पारिरहेको छ भन्ने बारे समेत सिक्ने मौका मिलेको उनी बताउँछिन् ।

त्यस्तै , गोरखाका केदार गान्धरी पनि नबिल एसएसईका फेलो हुन् । नबिल एसएसईले विजनेस मोडल सिकाउने उनी बताउँछन् । लिगलिगकोट हेरिटेज फार्म सञ्चालन गर्दै आएका उनी यस्ता प्रकारका तालिमले उद्यमीको आत्मविश्वास बढाउन मद्दत पुग्ने बताउँछन् । उनी भन्छन्, ‘नबिल एसएसईले व्यवसायसँग सम्बन्धित ज्ञान प्रदान गरेको छ । नेटवर्किङ, इन्भेस्टमेन्ट, ट्याक्सदेखि विजनेस मोडल समेत प्रदान गरेको छ । यसले कसरी सफल व्यवसायी बन्ने भन्ने आइडिया दिएको छ ।’

यस्तै किसिमको तालिमले युवाहरुलाई स्वदेशमै केही गर्न प्रेरित गर्ने उनी बताउँछन् । आफ्नै सर्कलका सबै युवा विदेशिदा उनी भने देशभित्रै केही गर्नुपर्छ भनेर लागेका छन् । उनले अहिले फलफूल र तरकारी मात्र उत्पादन गरेका छैनन् । होमस्टे मार्फत पर्यटकलाई स्वागत समेत गरेका छन् । उनले २ रोपनी जग्गामा ५ सयभन्दा बढी फलफूलका विरुवा तथा विभिन्न प्रजातिका नर्सरी लगाएका छन् । ३ लाखबाट सुरु गरेको उनको व्यवसाय २० लाख पुगेको छ । काम गर्ने होइन दिने हो भन्ने उद्देश्य बोकेका उनी आत्मनिर्भर बन्न युवालाई सुझाउँछन् ।
स्वदेशमै केही गर्छु भनेर लागेका युवालाई नबिल एसएसई पथप्रदर्शक बनेको बताउँछन् । व्यवसायको लागि आवश्यक खुराक यो तालिमबाट मिलेको उनी बताउँछन् ।

सोचको विकास र पार्टनरसिप गर्न सकियो भने सफत व्यवसायी बन्न सकिने उनी बताउँछन् । उनी भन्छन्, व्यवसायीले फास्ट रिटर्नको अपेक्षा राख्नु हुन्न । रिस्कसँगै ब्याकअप पनि हुनुपर्छ । युनिकनेस चाहिन्छ । रिसर्च गर्नुपर्छ । सेभिङ प्लान हुनुपर्छ । असम्भव छैन् ।‘
उनले अहिले ३ जनालाई रोजगारी समेत दिएका छन् । ग्रामिण पर्यटनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेका उनले होमस्टेबाट मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।
आइडिया दिने प्लेटफर्म
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका कार्यबाहक निर्देशक डा. गोबिन्द तामाङ यस्तो कार्यक्रमले उद्यमीलाई आफ्नो कार्यदक्षता कसरी सुधार गर्ने, मूल्य, बजारीकरण लगायत सैद्धान्तिक कुराहरुलाई व्यवहारमा उतार्न सिकाउने बताउँछन् ।
त्रिवि व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टले विगत दुई वर्षदेखि नबिल बैंकसँग मिलेर ‘नबिल स्कूल अफ सोशल इन्टरप्रेन्योरशिप’ कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । नबिल बैंकसँगको यो तालिमले उद्यमिमा आत्मविश्वास बढेको उनको भनाइ छ ।
उनी भन्छन् ‘यो कार्यक्रमले उद्यमीलाई आत्मविश्वासी बन्न सिकाएको छ । स्टार्टअप र बिजनेस सुरु गरिसकेका व्यक्ति जसलाई सल्लाहको खाँचो छ तिनीहरुलाई सल्लाह दिएको छ । यस्तो खालको कार्यक्रम गर्न पाउँदा हामी पनि उत्साहित छौँ ।‘
नबिल एसएसई आइडिया दिने प्लेटफर्म भाको उनले बताए । यसलाई आगामी दिनमा अझै सुधार र विस्तार गरेर संस्थागत गर्दै लैजाने उनले बताए ।
विशेष गरेर फेलो प्रोग्राम भन्ने चाहिँ यहाँ चल्छ वर्षको २ वटा ग्रुप हुन्छ एउटा सेसनमा २० जनाले भाग लिन पाउँछन् यसको लागि देशभरबाट छानिएका उद्यमीमध्ये २० जना छनोट हुन पाउँछन् स्टार्टअप र बिजनेस सुरु गरिसकेका मानिस जसलाई सल्लाहको खाँचो छ ती व्यक्तिहरु सहभागी गराइन्छ ।
के हो ’नबिल एसएसई’ ?
नबिल स्कूल अफ सोशल इन्टरप्रेन्योरशिप अर्थात् ’नबिल एसएसई’ नबिल बैंकले दुई वर्षअघि सुरु गरेको सामाजिक उद्यमशिलासम्बन्धी कार्यक्रम हो । यस कार्यक्रमले उद्यम गर्न चाहनेहरुलाई तालिमका साथै मेन्टरसिप पनि प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रमलाई स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप इन्डियाको प्राविधिक सहयोग रहेको छ।

समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम ल्याइएको बैंकले जनाएको छ । स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तीय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यका साथ नबिल एएईले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रम र फेलोसिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ।

सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रम बैंकले सातै प्रदेशका स्कुल÷कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेर गरिरहेको छ । यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्नेछ।
त्यसैगरी फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित हो । जुन काठमाडौंको किर्तिपुरस्थित त्रिविमा गराइन्छ । ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।
यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिलाई उद्यमशीलताको तालिम दिइनेछ । उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ । सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुवैमध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन्।

नबिल एसएसईका दुवै कोर्स पूरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुवात गर्न सक्ने अपेक्षा गरिएको छ। उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, ऊर्जा र जलवायु परिवर्तनजस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्नेछन्। सहभागीहरुले सामाजिक उद्यम सञ्चालनको तरिकासँगै आधारभूत कानुनी तथा करसम्बन्धी ज्ञान पनि पाउनेछन्। उनीहरुले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्द्धन, लेखासम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापनजस्ता व्यवसाय सञ्चालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप पाउनेछन्।

लघुवित्त, संस्था व्यवस्थापन, परियोजना सञ्चालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारीकरणजस्ता विषयलाई समेत तालिममा समावेश गरिएको छ। यसले गर्दा यो तालिम व्यवसाय सुरुवात तथा सञ्चालनमा मात्र सीमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकाससँग समेत जोडिएको छ ।

यसरी व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जाका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। ’नबिल एसएसइ कार्यक्रम मार्फत नबिल बैंकले दिएको यो उर्जाले नेपालमा केही गरौँं भन्ने हुटहुटी बोकेका युवा उद्यमीहरुलाई टेवा दिनेमा आशावादी बन्न सकिन्छ ।




