ललितपुर । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि भएकाे कुटपिटको विरोधमा आज देशभरिका अदालतका कर्मचारीले काम रोकेका छन् । सर्वोच्च अदालत अन्तर्गतका राष्ट्रियस्तरका चार वटै कर्मचारी संगठनहरुले आह्वान गरेअनुसार न्यायालयका कर्मचारीहरुले आज दिउँसो साढे १ बजेसम्म काम राेकेका हुन् ।
गत असार १३ गते तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेकाेप्रति विराेधस्वरूप कर्मचारिहरू आन्दोलनमा उत्रिएका हुन् ।अधिवक्ता लामिछानेले फाँटमा कार्यरत तामाङलाई सक्कल मिसिल माग गर्दा सक्कलै मिसिल दिन नमिल्ने बताएपछि ‘तपाईले जुन-जुन कागजात अध्ययन गर्ने हो सो को नक्कल लिएर जान सक्नुहुन्छ’ भन्दा अपशब्द प्रयोग गरेर ‘तैले के गर्न सक्छेस् गर’ भन्दै हातपातमा उत्रिएका थिए ।
उक्त घटनापछि पीडित तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । जाहेरी दिएसँगै प्रहरीले अधिवक्ता लामिछानेलाई पक्राउ गरेको थियो। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान जारी छ ।




