काठमाडौं । घोराही सिमेन्टको आईपीओ बिक्री गरेपछि भर्नेहरुको पैसा के हुन्छ ? भन्ने प्रश्न आम लगानीकर्ताको मनमा उब्जिएको छ । कम्पनीको आईपीओमा चलखेल भएको पाइएपछि नेपाल धितोपत्र बोर्डले कम्पनीको आईपीओ बिक्री स्थगन गर्ने निर्देशन दिएको छ । यो सँगै हालसम्म आवेदन दिएकाको हकमा के हुन्छ ? भन्ने चासो बढेको हो ।
आईपीओ भरिसकेका लगानीकर्ताहरुको पैसा खातामा होल्ड भएर बस्ने बोर्डका अध्यक्ष रमेश हमालले बताए । उनी भन्छन्, ‘कम्पनीको आईपीओमा नक्कली आवेदन भएको आशंकापछि छानबिनका लागि बिक्री प्रक्रियामा रोक लगाइएको छ । छानबिन नभएसम्म कम्पनीको आईपीओ पूर्ण रुपमा स्थगन भएको छ । बोर्डले अनुसन्धान तथा छानविन प्रक्रिया सम्पन्न नगरेसम्मको लागि हालसम्म आवेदन दिएकाको हकमा पैसा खाता मै होल्ड भएर बस्छ ।’
उक्त कम्पनीको सार्वजनिक निष्काशनमा मागभन्दा बढी कित्ता सेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्काशनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको थियो ।
कुनैपनि कम्पनीको आईपीओमा ओभरसब्सक्राइब्ड भइसकेपछि आवेदनको म्याद थप गर्न पाइदैन । तर कम्पनीले भने २ गुणा बढी ओभरसब्सक्राइब्ड भइसक्दा पनि म्याद थप गरेको हो ।
‘सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ । ‘ बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।
प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको घोराही सिमेन्ट इन्डस्ट्रीमा परेको ८५ लाख कित्ताभन्दा बढी कित्ताका सेयर दिइएको आवेदन रद्द भएको खुलेको छ।
घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको छ। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ। यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्नेछ। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको छ।




