


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन प्याब्सनबीच वित्तीय र डिजिटल साक्षरता सम्बन्धि सम्झौता भएको छ । सोमबार उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र प्याब्सनका तर्फबाट अध्यक्ष डिके ढुङगानाले हस्ताक्षर गरेका हुन् ।
प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतना कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा बोल्दै प्याब्सनका अध्यक्ष ढुङ्गानाले बैंकलाई गाउँको कुना काप्चासम्म पुर्याउन यो सम्झौताले निकै ठूलो भुमिका खेल्ने बताए ।
उनले भने,’अहिले विद्यार्थीलाई बैंकमा गएर पैसा जम्मा गर्न समेत आउँदैन । उनीहरुको अभिभावकलाई समेत आउँदैन । अझ अहिले डिजिटल कारोबार बढेसँगै यसले अपराध समेत जन्माएको छ । यी समस्या समाधानका लागि यो सम्झौताले ठूलो भुमिका खेल्छ ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले अहिले बजारमा डिजिटल कारोबार बढ्दै जाँदा यसबाट उत्पन्न जोखिम नियन्त्रण गर्न उक्त सहकार्य निकै फलदायी हुने बताए ।
उनले भने, “हाम्रो १६५ शाखा रहेका छन् । सबै शाखामार्फत प्याब्सनको सहकार्यमा हामीले विद्यार्थी माझ वित्तीय र डिजिटल साक्षरता कार्यक्रम गछौं ।” बैंकले एकैदिन ९० विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको जनाउँदै प्याब्सनको सहयोगले यसलाई वृहत रुपमा अगाडि बढाउने कोइरालाले दावी गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) संग सम्बद्ध व्यक्तिहरु तथा बैंकका उच्चपदस्थ कर्मचारीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापा ज्यूले स्वागत मन्तव्य राखेका थिए । उक्त सम्झौता पश्चात प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतनामुलुक कार्यक्रमहरु देशव्यापीरुपमा सञ्चालन गर्नेछ भने प्याब्सनले आफुसग आवद्ध शैक्षिक संस्थाहरूलाई समन्वय र सहजीकरण गर्नेछ ।

अर्थ सन्जाल