


काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा ठूलो मात्रामा नक्कली आवेदन परेको पाइएको छ । कम्पनीको आईपीओमा झुटा आवेदन परेको पाइएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको छ ।
सोमबार एक सूचना जारी गर्दै अध्ययन गर्न नेपाल धितोपत्रको सार्वजनिक निष्काशनमा हुने झुटा आवेदन नदिने सचेत गराएको सीडीएस एण्ड क्लियरिङले घोराही सिमेन्टको आईपीओमा त्यस्तो आवेदन देखिएपछि बोर्डलाई पनि जानकारी गराएको हो ।
यसरी आईपिओमा आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गर्नु जालसाजी युक्त कारोबार हुने भएकोले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्ने चेतावनी सिडीएसले दिएको हो।
आफ्नो खातामा पैसा नभएको थाहा हुँदा हुँदै आईपीओलाई प्रभावित पार्नको लागि जानाजान अत्याधिक कित्ताको लागि आईपीओमा आवेदन परेको सिडीएसले जनाएको छ ।
‘संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार झुटा एवम् जालसाजी युक्त कारोबार हुन्छ,’ सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जारी गरेको सूचनामा भनिएको छ, ‘यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई धितोपत्र सम्बन्धी ऐन अनुसार कानुनी कारवाही हुने व्यहोरा जानकारी गराउँदै यस किसिमको कार्य नगर्न नगराउनुहुन सम्बन्धित सम्पूर्णलाई सूचित गराइन्छ ।’

अर्थ सन्जाल