काठमाडौं । काठमाडौं महानगरपालिका– २९ का वडाध्यक्ष कुश ढकालले धोबीखोलाको करिब ११ रोपनी जग्गा नक्कली मोही खडा गरी व्यक्तिको नाममा नामसारी गर्न सिफारिस गरेको खुलेको छ ।
प्राप्त विवरणअनुसार ढकालले ११ माघ ०७७ मा काठमाडौं– २९ अनामनगरस्थित १० रोपनी १२ आना दुई पैसा एक दाम जग्गा केदारेश्वर महादेव गुठीको नाममा नामसारी गरी व्यक्तिलाई दिन सिफारिस गरेका हुन् ।
जग्गा नामसारीका लागि उनले एक नक्कली भोगचलनकर्ता (गुठियार) र १८ मोही खडा गरेका थिए । सोही आधारमा उनले धनीपुर्जा दिन गुठी संस्थानलाई सिफारिस गरेका थिए । त्यसआसपास कारोबार भएको चलनचल्तीको मूल्यअनुसार उक्त जग्गा एक अर्ब ७६ करोड मूल्यको हो ।
प्राप्त विवरणअनुसार वडाध्यक्ष ढकालले कित्ता नं. १, २, ५, ९, १०, ११, २०, २२, ३८, ४२, ६८, ७०, १७७, १८७, २०५, २०६, २४२ र २४३ को जग्गा व्यक्तिको नाममा धनीपुर्जा जारी गर्न त्रिपुरेश्वरस्थित कालमोचन गुठी शाखा कार्यालयलाई पत्र लेखेका थिए । गुठीलाई लेखिएको च.नं. १७९७ को पत्रअनुसार उक्त जग्गामा ०३८ देखि नै सम्बन्धित व्यक्ति बसोवास गर्दै आएको, उनीहरूले विद्युत् प्राधिकरणलाई बिल तिरेको र निर्वाचन आयोगको मतदाता सूचीमा समेत उनीहरूको नामावली रहेको हुँदा धनीपुर्जा बनाइदिन उल्लेख छ ।
काठमाडौं महानगरपालिकाको लेटरहेडमा ढकालको हस्ताक्षरित पत्रमा भनिएको छ, ‘गुठी तैनाथी जग्गामा घर–टहरा बनाई भोगचलन गर्दै आएकोमा मोही कायम गरिदिने भन्ने कानुनी व्यवस्था भएको र २६ चैत ०४६ पहिलेदेखि गुठी तैनाथी जग्गामा आफ्नो पुँजी लगाई घर बनाएर बसी भोग गरिरहेकामा लालपुर्जा दिनेसम्मको कुराको कानुनी व्यवस्था भएको हुँदा उक्त जग्गा केदारेश्वर महादेव गुठीको नाममा चौतारिया फत्तेजंग पराक्रम शाहको मौजाअन्तर्गत रहेकाले निजको नाममा जग्गा धनीपुर्जा बनाइदिनहुन विनम्र अनुरोधका साथ सिफारिस गर्दछु ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।
पत्रमा उल्लेख भएअनुसार उनले भीमबहादुर खड्का, रामबहादुर तोम, पृथ्वीराम पौडेल, विष्णुप्रसाद खतिवडा, भूमिनन्द अधिकारी, कृष्ण गुरुङ, बालिका थापा, रञ्जन भण्डारी, विद्या कोइराला, हिरामाया मोक्तान, वादुलाल तामाङ, कृष्णबहादुर गुरुङ, गणबहादुर तोम, मानबहादुर गुरुङ, सोमबहादुर खड्का, प्रेमबहादुर लामा, कृष्णबहादुर खत्री र कैलाश श्रेष्ठलाई नक्कली मोही बनाएका छन् । त्यस्तै, चौतारिया फत्तेजंग पराक्रम शाहलाई जग्गाको नक्कली भोगचलनकर्ता (मौजा) बनाएका छन् ।




