निर्माण नसकिँदै भत्कियो ४७ लाख खर्चेको ग्याविन वाल

फिदिम । पाँचथरको फिदिमदेखि रानिटार लुङरुपा सन्दकपुर सडक अन्तरगत रानिटारको फ्याक्तिन खण्डको ग्याबिन वाल निर्माण सम्पन्न नहुँदै भत्किएको छ । भर्खरै मात्र कालोपत्रे गरिएको उक्त सडक अन्तरगत फिदिम ७ को फ्याक्तिनमा ४७ लाख रुपैंया खर्च गरेर लगाइएको वाल बुधवार साँझ भत्किएको हो ।

२५ मिटर लम्बाई र २२ मिटर उचाइ भएको ग्याविन वाल भत्किएपछि सडक नै जोखिममा परेको छ । गोलाइ भन्दा अगाडी माथिल्लो भागमा सडक चुँडिएको छ भने तल्लो गोलाइको भित्तामा ढुङ्गा गिटि थुप्रिएका छन् ।

पानी पर्दा वाल झरेर सडक र नजिकैका घरमा जोखिम बढ्नुका साथै यातायात नै अवरुद्ध हुने देखिएकाले तत्काल ढुङ्गा माटो पन्छाएर सडक खुलाउन भन्दै स्थानीयले पूर्वाधार कार्यालयको ध्यानाकर्षण गराएका छन् । गोरखापत्र दैनिकमा खबर छ।

उक्त वाल पूर्वाधार कार्यालयले उपभोक्ता समिति मार्फत निर्माण गरेको हो । काम नसकिँदै भुक्तानी दिइएकाले पूर्वाधार कार्यालय, उपभोक्ता समिति र निर्माण व्यवसायी बिच मिलेमतो भएको दाबी फिदिम ७ का खगेन्द्र वास्कोटाको छ ।

निर्माणका क्रममा कमसल सामग्री प्रयोग गर्दा काम नसकिँदै भत्केको पनि स्थानीयको बताउछन् । तर पूर्वाधार कार्यालय पाँचथरका प्रमुख (इन्जिनियर)राजनराज रेडीले निर्माणमा लापरबाही नभएर वर्षाका कारण भत्किएको दाबी गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *