युवा स्वरोजगार र उद्यमशीलता कार्यक्रम सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको आगामी वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा युवा स्वरोजगार एवं उद्यमशीलताको कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले सेन्ट जेभियर कलेजको सहकार्यमा आयोजना गरेको नमुना संयुक्त राष्ट्रसङ्घ, २०२३ कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल कृषि, जलस्रोत, ऊर्जा, जडीबुटी, पर्यटनलगायतमा सम्भावनाको देश भएकाले यीमार्फत स्वरोजगार र उद्यमशीलतामा जोड दिइने उल्लेख गरे ।

वर्तमानको आधारस्तम्भका रुपमा रहेका युवा ६० लाखभन्दा बढीको सङ्ख्यामा रोजगारीका लागि विदेशिएकाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न लागिएको उनको भनाइ छ । हरेक क्षेत्रमा युवा परिचालन गरेर काम गर्न सकिने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

‘हरेक क्षेत्रमा सम्भावना भएर पनि नेपाललाई विकसित किन बनाउन सकिएन भनी युवाले सोच्नु पर्नेछ, समस्या राजनीतिमा छ, राजनीतिलाई सफा गर्ने काम हाम्रो हो, युवाले राजनीतिबाट भागेर समस्या समाधान हुँदैन, समस्या समाधानका लागि युवा राजनीतिमा लाग्नुपर्छ, युवाले देशमै बस्ने सङ्कल्प गर्नुपर्छ, राजनीतिमा सहभागिता जनाउनुपर्छ, राजनीतिक नेतृत्वले समृद्धिका लागि काम गर्नमा कमजोरी गरेको छ, यसमा युवाको सक्रियता आवश्यक छ’, उनले बताए ।

‘पढ्दै कमाउँदै र कमाउँदै पढ्दै’ कार्यक्रम पनि सरकारले युवालाई नै लक्षित गरेर आगामी वर्षमा सञ्चालन गर्न लागेको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए । नेपालका मौलिक संस्कृतिलाई रक्षा गर्दै यसमा विज्ञान र प्रविधिलाई पनि जोडेर युवा वर्ग अघि बढ्नुपर्नेमा उनले जोड दिए । जीवनको मूल्य स्थापित गर्ने गरी अध्ययन अघि बढाउन, शारीरिक श्रमलाई निरन्तरता दिन र नियमितरुपमा ध्यान गर्न उपप्रधानमन्त्री श्रेष्ठले युवा वर्गलाई आह्वान गरे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *