नक्कली पीसीआर रिपोर्ट बनाउने शहीद गंगालालका इन्चार्जविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यादवले नक्कली पीसीआर रिपोर्ट बनाएको पुष्टी भएपछि सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

केन्द्रका तत्कालीन ल्याब इन्चार्ज यादवले पीसीआर टेष्टको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा यादवले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको छाप आफुखुशी बनाई दुरुपयोग गर्ने गरेको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यादवले प्रयोग गर्ने कार्यालयको कम्प्युटरको सीपीयूको फरेन्सिक परीक्षण गर्दा फेला परेका पीसीआर रिपोर्टहरु सबै नक्कली भएको समेत अख्तियारले जनाएको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका मानिसहरुको स्वाब संकलन गरी अनाधिकृत रुपमा रकम लिई स्वाबको परीक्षण नै नगरी गलत पीसीआर प्रतिवेदन उनले बनाउने गरेको अनुसन्धानमा खुलेको छ ।

रिपोर्ट पोजेटिभ आएमा पनि थप रकम लिई उनले रिपोर्ट नेगेटिभ बनाउने गरेको अख्तियारले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *