


काठमाडौं । नेपालले मलेसियाविरुद्धको दोस्रो खेलमा ७ विकेटको शानदार जित निकालेको छ । ५ खेलको महिला टी–२० सिरिजअन्तर्गत घरेलु टोलीविरुद्ध नेपालले पहिलो जित निकालेको छ । यो सँगै नेपाल सिरिज १–१ को बराबरी गर्न सफल भएको छ ।
जितको लागि ९७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे २१ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहिन् ।
नेपाललाई ओपनर कविता कुँवर र सीता रानामगरले राम्रो सुरुवात दिलाउँदै जितको आधार तय गरेका थिए । कविताले ४३ बलमा २ चौकासहित २६ रन बनाइन् । त्यस्तै अर्की ओपनर सीता २२ बलमा २ चौका र १ छक्कासहित २३ रनमा बोल्ड आउट भइन् ।
विन्दु रावल १८ बलमा २ चौकासहित १७ रनमा क्याच आउट भइन् । सम्झना खड्का २ रनमा नटआउट रहिन् । मलेसियाकी ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले ३४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाएकी थिइन् ।
विनीफ्रेदलाई रविना क्षेत्री बेलबासेले २६ बलमा ३ चौकासहित २० रनमा बोल्ड गरिन् । जुलिया ३५ बलमा २० रनमा आउट भइन् । उनी इन्दु बर्माको बलमा सम्झना खड्काबाट क्याच आउट भइन् । रुविनाले नै एलिसालाई एलबीडब्लू आउट गरिन् । हामिजाह हाशिम १६ बलमा १४ रनमा नटआउट रहिन् ।
नेपालको रुविना क्षेत्रीबेलबासेले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । इन्दु बर्मा ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् ।
नेपाल पहिलो खेलमा मलेसियासँग ५० रनमा अल आउट हुँदै ५ विकेटले पराजित भएको थियो ।

अर्थ सन्जाल