भरतपुर महानगरक ठूला योजना अझै अधुरा

विकास निर्माणका ठूला योजना निर्माण पूरा नहुँदै भरतपुर महानगरपालिकाका जनप्रतिनिधिको कार्यकाल सकिने भएको छ ।

साना योजना सम्पन्न गरे पनि महानगरका गौरवका आयोजना सम्पन्न नहुँदै वर्तमान जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिने भएको हो । महानगरपालिकाको पहल र नेपाल सरकारको लगानीका योजना प्रतिबद्धताअनुसार सम्पन्न नहुँदा अझै निर्माणाधीन छन् ।

सङ्घीयता कार्यान्वयनका क्रममा महानगरपालिकामा जनप्रतिनिधि आएपछि गौरवको आयोजनाका रूपमा वर्तमान नेतृत्वको कार्यकालमा भरतपुर ‘सिटी हल’ निर्माण पूरा गर्ने लक्ष्य लिएको थियो ।

एक अर्ब ८५ करोड रुपियाँको लागतमा निर्माण सुरु भएको भरतपुर सिटी हलको काम अहिले भइराखेको छ ।

निर्माण सम्पन्न हुन अझै दुई वर्ष लाग्ने देखिएको छ । हल निर्माणका लागि जग्गा प्राप्तिमा केही समय लागेकाले काम ढिला भएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।

जिल्ला समन्वय समितिबाट जग्गा हस्तान्तरण भएपछि सिटी हल निर्माण भइरहेको हो ।

महानगरको अर्को गौरवको आयोजनाका रूपमा रहेको ८८ किलोमिटर लामो चक्रपथ निर्माणले गति लिएको छैन ।

चक्रपथ निर्माणका लागि प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनसहित परियोजना तयार पारे पनि कामले पूर्णता पाउने गरी अगाडि बढ्न सकेको छैन ।

आठ अर्ब २० करोड रुपियाँ निर्माण लागतमा रहेको चक्रपथको ४० किलोमिटर सडकखण्ड सङ्घ, प्रदेश, सडक विभाग र महानगरको लगानीमा निर्माणाधीन छ ।

बाँकी ४८ किलोमिटर सडकका लागि स्रोतको खोजी भइरहेको महानगरपालिकाले जनाएको छ ।

“महानगरपालिकाको आफ्नै लगानी रहेका ठूला आयोजना छैनन्,” महानगरका योजना शाखाका इन्जिनियर कृष्ण मल्लले बताए । “महानगरपालिकाको लगानीमा निर्माण हुने योजना भरतपुर मेट्रो प्लाजाको काम सुरु हुँदैछ र अटोल्यान्ड प्रक्रियामा रहेको छ,” मल्लले भने। गोरखापत्र दैनिकमा शालिग्राम नेपालले खबर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *