काठमाडौँ । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध झण्डै ६९ करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । विभागले ६८ करोड ९४ लाख ६५ हजार २०४ रुपैयाँ बिगो कायम गर्दै बुधबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो ।
४३ वर्षीय पौडेल र उनकी श्रीमतीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ । पौडेलले ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ र उनकी श्रीमती एलिना बस्नेतले ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ अवैध रूपमा आर्जन गरेको विभागको दाबी छ ।
यसअघि विभागले पौडेल दम्पतीविरुद्ध ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ विदेशी विनिमय अपचलन गरेको अभियोगमा २०८१ असोज १४ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त कसुरको अनुसन्धान गर्ने क्रममा उनीहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ विपरीतका कार्यहरू गरेको तथ्य फेला परेपछि विभागले थप अनुसन्धान अघि बढाएको थियो ।
विभागले दायर गरेको अभियोग पत्रमा सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजायको माग गरिएको छ । साथै, अवैध रूपमा आर्जित सम्पूर्ण सम्पत्ति जफत गर्न समेत मागदाबी गरिएको विभागका निर्देशक सचित कुमार वाइबाले जानकारी दिए ।






