काठमाडौँ । वैदेशिक रोजगारीको सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीबाटै बुझाउनुपर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूलाई बुझाउनुपर्ने सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्रै भुक्तानी गर्न आग्रह गरेको हो ।
“वैदेशिक रोजगारीमा जान चाहने प्रत्येक नेपाली नागरिकले ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) लाई प्रचलित कानुन बमोजिम बुझाउनुपर्ने सेवा शुल्क वापतको रकम अनिवार्य रुपमा बैकिङ्ग माध्यमबाट प्रयोजन खुलाई बुझाउनु हुन अनुरोध छ,” सूचनामा भनिएको छ ।
रकम बुझाएको प्रमाण, कागज तथा अनलाइन कारोबार भएको विवरण आफूसँग सुरक्षित रुपमा राख्न समेत सेवाग्राहीलाई अनुरोध गरिएको छ ।
विभागले नगदमा पैसा बुझाउँदा पछि ठगी भएको खण्डमा कानुनी प्रमाण जुटाउन कठिन हुने भन्दै म्यानपावर संस्था, त्यसका सञ्चालक, कर्मचारी वा कुनै पनि प्रतिनिधिलाई वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कार्यका लागि नगद रकम नदिन सचेत गराएको छ ।
विभागले नगदमा कारोबार गर्ने म्यानपावर कम्पनीहरूलाई प्रचलित वैदेशिक रोजगार ऐन तथा नियम अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।







