काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आज (वैशाख २७ गते) देखि एकीकृत कारोबार शुभारम्भ गरेका छन् । मर्जर प्रक्रिया सम्पन्न गरेर यी २ कम्पनीले आज वैशाख २७ गतेबाट आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन् ।
दुवै कम्पनीको चैत्र २२ मा सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यससँगै निर्जीवन बीमा कम्पनी देशकै धेरै चुक्ता पुँजी भएको कम्पनी बनेको छ। मर्जर पश्चात बनेको ‘आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’ को चुक्ता पुँजी ३ अर्ब २५ करोड पुगेको छ।
दुवै कम्पनी एक बराबर एकको स्वाप अनुपातमा मर्ज भएका हुन् । मर्जर पश्चात बनेको आइजिआई प्रुडेन्सियलको प्रमुख कार्यकारी अधिकृतमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सिईओ युगेशभक्त वादे श्रेष्ठ रहेका छन् भने अध्यक्ष हेमराज ढकाल भएका छन्।
यी २ कम्पनीले गत २७ माघमा यी दुई कम्पनीले एक–आपसमा मर्ज हुने प्रारम्भिक सहमति गरेका थिए । यी कम्पनीलाई एकीकृत कारोबार गर्न नियामक निकाय नेपाल बिमा प्राधिकरणले २६ चैतमै अनुमति दिइसकेको छ । नेपाल धितोपत्र बोर्डले गत १२ वैशाखमा मर्जर स्वीकृति दिएको थियो ।






