जेठ १५ देखि सार्वजनिक यातायातमा ‘लगेज ट्याग’ अनिवार्य

काठमाडौँ । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको सामान (लगेज) को सुरक्षा र व्यवस्थापनलाई व्यवस्थित बनाउन आगामी जेठ १५ गतेदेखि देशभर ‘ट्याग’ प्रणाली अनिवार्य रूपमा लागू हुने भएको छ।

गत जेठ ८ गते ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार यो व्यवस्था कार्यान्वयनमा आउन लागेको हो। लामो दूरीका सवारी साधनमा यात्रुको सामान हराउने, साटिने तथा चोरी हुने घटना बढेपछि त्यसको समाधानका लागि यस्तो प्रणाली लागू गर्न लागिएको बताइएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौला ले जेठ १५ गतेदेखि यसलाई देशव्यापी रूपमा लागू गरिने जानकारी दिए। उनका अनुसार व्यवसायीहरूले आवश्यक तयारी पूरा गरिसकेका छन् र अब यात्रुको सामानको जिम्मेवारी व्यवसायीले समेत लिनुपर्ने वातावरण बन्नेछ।

त्यस्तै, ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदी ले पनि जेठ १५ देखि नियम पूर्ण रूपमा कार्यान्वयनमा आउने बताए। उनका अनुसार कार्यान्वयन तयारीका लागि यही समयसीमा तय गरिएको हो।

नयाँ व्यवस्थाअनुसार बसपार्क वा आधिकारिक काउन्टरबाट टिकट बुकिङ गर्ने यात्रुले टिकट काट्ने बेलामै सामानका लागि ट्याग प्राप्त गर्नेछन्। सामानमा एउटा ट्याग लगाइनेछ भने त्यसको प्रतिलिपि वा अर्धकट्टी यात्रुलाई दिइनेछ।

यस्तै, बीच बाटोबाट सवारी चढ्ने यात्रुको हकमा चालक वा सहचालकले नै यात्रुको सामानमा ट्याग लगाइदिनुपर्ने व्यवस्था गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *