


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आज बाट सुरू हुने भएको छ। यी तीन वटै कम्पनी एक आपसमा १:१:१ को स्वाप रेसियोमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन्।
मर्जपछि युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको १०० कित्ता सेयर हुने सेयरधनीहरूले हिमालयन लाइफ इन्स्योरेन्सको पनि १०० कित्ता नै सेयर पाउनेछन्।
गत वैशाख ६ गतेको विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। यी तीन वटै कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणले वैशाख १३ गते, नेपाल धितोपत्र बोर्डले वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते अन्तिम स्वीकृति दिएको थियो ।
मर्जपछि बन्ने हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी सात अर्ब ७० करोड पुग्नेछ। हिमालयन लाइफ इन्स्योरेन्समा मनोजलाल कर्ण सिईओ र सुलभ अग्रवालले अध्यक्षको नेतृत्व सम्हाल्नेछन् । मर्जरपछि बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने कम्पनीले जानकारी दिएको छ।

अर्थ सन्जाल