सानिमा बैंकको वित्तीय विवरणमा कैफियत: राष्ट्र बैंकले भन्यो – ‘लेखापरीक्षणका कैफियत फेरि नदोहोर्‍याउनू’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सानिमा बैंकको लेखापरीक्षणमा गम्भीर प्रकृतिका कैफियत फेला पारेको छ। लेखापरीक्षण प्रतिवेदनमा कैफियत भेटिएपछि राष्ट्र बैंकले उक्त कैफियत तत्काल सुधार गर्न निर्देशन दिएको छ।

बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण प्रकाशन तथा लाभांश वितरणका लागि स्वीकृति दिँदै केन्द्रीय बैंकले लेखापरीक्षण प्रतिवेदनमा देखिएका कमजोरी पूर्ण रूपमा सुधार गर्न निर्देशन दिएको हो।

नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सानिमा बैंकलाई आगामी दिनमा यस्ता कैफियत दोहोरिन नदिने गरी आवश्यक व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ। राष्ट्र बैंकका निर्देशन, परिपत्र तथा प्रचलित कानुनी व्यवस्था पालना गरेर मात्रै बैंकिङ गतिविधि सञ्चालन गर्नुपर्नेमा पनि राष्ट्र बैंकले भनेको छ ।

नेपाल राष्ट्र बैंकले एकातर्फ लेखापरीक्षणमा देखिएका कमजोरी सुधार गर्न निर्देशन दिएको छ भने योसँगै अर्कोतर्फ बैंकलाई आर्थिक वर्ष २०८२/८३ कोसञ्चित मुनाफाबाट लाभांश वितरणका लागि स्वीकृति दिएको छ। यो सँगै नियामकीय निस्पक्षतामाथि समेत गम्भीर प्रश्न खडा भएको छ। नियामकको यो निर्णयपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ अन्तर्गत रहि बैंकलाई लाभांश वितरणको बाटो खुलेको हो।

राष्ट्र बैंकका अनुसार सानिमा बैंकसँग आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा २ अर्ब ८८ करोड ४९ लाख ५६ हजार ९ सय ३७ रुपैयाँ ४८ पैसा सञ्चित मुनाफा छ। बैंकले कायम चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४ सय १४ रुपैयाँ ३३ पैसाको १० प्रतिशतका दरले १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५ सय ४१ रुपैयाँ ४३ पैसा नगद लाभांश वितरण गर्न पाउनेछ। उक्त रकममा लाभांश करका लागि आवश्यक रकमसमेत समावेश छ।

त्यसैगरी, बैंकले जारी गरेको अविमोच्य असञ्चिति अग्राधिकार शेयरमा तोकिएको वार्षिक ८.२५ प्रतिशतका दरले ५ करोड २४ लाख ३८ हजार ३ सय ५६ रुपैयाँ १६ पैसा नगद लाभांश वितरण गर्न पनि राष्ट्र बैंकले स्वीकृति दिएको छ।

सानिमा बैंकको वार्षिक साधारणसभा असोज १२ गते सम्पन्न भइसकेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक हिसाब साधारणसभाबाट स्वीकृतिका लागि पेस गर्न पनि सहमति दिएको थियो।

तर, लेखापरीक्षण प्रतिवेदनमा औंल्याइएका विषयमा भने राष्ट्र बैंकले बैंकलाई छुट्टै सचेत गराएको छ।  कैफियत सुधार गर्दै लैजाने, पुनः त्यस्ता समस्या नदोहोर्‍याउने व्यवस्था गर्ने र केन्द्रीय बैंकका निर्देशन तथा कानुनी प्रावधानको पूर्ण पालना गर्ने प्रतिबद्धता सानिमा बैंकले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *