प्रभु बैंकका प्रबन्धक ग्राहकको पैसा लिएर सम्पर्कविहीन

प्रभु बैंकको दिक्तेल शाखाका प्रबन्धक होमराज खतिवडा गत १ महिनादेखि सम्पर्कविहीन बनेका छन् । खोटाङको दिक्तेल रुपाकोटका प्रभु बैंकका प्रबन्धक खतिवडा ग्राहकको पैसा सापटी लिएर फागुन १ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

प्रबन्धक खतिवडाले दर्जनौँ व्यक्तिको पैसा सापटी लिएको तथ्य सार्वजनिक भएको छ । गत माघ मसान्तसम्म बैंकको शाखा कार्यालय दिक्तेलको सम्पर्कमा रहेका खतिवडा एक महिना बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । सम्पर्कविहीन बनेपछि खतिवडालाई पैसा सापटी दिने व्यक्तिहरूले आफुहरु फसेको गुनासो थालेका छन् ।

रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका काँशिराज बस्नेतका अनुसार, ‘प्रबन्धक खतिवडाले १० लाख लिएर पाँच लाख फिर्ता गरे, बाँकी पाँच लाख फिर्ता गरेका छैनन् ।’ खतिवडाले एउटै व्यक्तिबाट १६ लाखसम्म सापटी पैसा लिएको र धेरैजसो व्यक्तिलाई चेक दिएको तथ्य फेला परेको छ । पटक पटक गरेर उनले विभिन्न व्यक्तिबाट १ करोडभन्दा बढी रकम लिएको पीडितहरुको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार यस बिषयमा पैसा सापटी लिएको विषयमा पीडितको उजुरी परेको छैन । खतिवडा सम्पर्कविहीन भएको विषयमा प्रभु बैंकले अहिलेसम्म पनि आफ्नोआधिकारिक धारणा दिएको छैन । प्रबन्धक खतिवडा सम्पर्कविहीन बनेपछि प्रभु बैंकले उनको स्थानमा भने दीपक खत्रीलाई पठाई सकेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *