देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न प्रसाईंको माग

काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनले देशमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न पनि आग्रह गरेका छन्।

मंगलबार सार्वजनिक भिडियो सन्देशमा प्रसाईंले देवानगञ्जको घटना नियोजित भएको दाबी गर्दै त्यसबारे निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन्। उनले घटनामा सुरक्षा निकाय र सरकारको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।

‘सुनसरीको घटना आफैं भएको होइन, नियोजित रूपमा घटाइएको हो। सरकारले यसको सत्यतथ्य सार्वजनिक गर्नुपर्छ र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ,’ उनले भने।

प्रसाईंले नेपालमा कुनै पनि प्रकारको हिंसा र द्वन्द्वबाट समस्या समाधान नहुने उल्लेख गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखेका छन्।

भिडियो सन्देशमा उनले रोहिङ्ग्या शरणार्थी, सीमा सुरक्षा, केही अन्तर्राष्ट्रिय संस्था तथा सरकारसँग सम्बन्धित विभिन्न दाबी पनि गरेका छन्। ती दाबीहरूको स्वतन्त्र पुष्टि भएको छैन।

प्रसाईंले मुस्लिम समुदायप्रति आफ्नो कुनै विरोध नरहेको उल्लेख गर्दै नेपालमा जन्मिएका मुस्लिम समुदायप्रति सम्मान रहेको बताएका छन्। साथै, केही बाह्य शक्तिले नेपालमा अस्थिरता सिर्जना गर्न खोजेको आफ्नो बुझाइ रहेको पनि उनले बताएका छन्।

उनले नेपाली सेनाले राष्ट्रिय सुरक्षाको दायित्व प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने धारणा राख्दै सनातन धर्मावलम्बीलाई शान्तिपूर्ण रूपमा एकजुट हुन आग्रह गरेका छन्। ‘देशलाई हिंसा होइन, शान्ति चाहिएको छ। सबैले संयमता अपनाउँदै राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन जिम्मेवार बन्नुपर्छ,’ उनले भने।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *