एमसीसीबारे ओली सरकारले लुकाएको दस्ताबेज भेटिए

एमसीसी सम्बन्धी ओली सरकारले लुकाएको नयाँ नौवटा दस्ताबेज भेटिएका छन् । सत्तारुढ दलका तर्फबाट एमसीसी अध्ययन कार्यदलका संयोजक रहेका नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गुपचुप राखेका एमसीसीसम्बन्धी नाैवटा दस्ताबेज भेटिएको जानकारी दिएका हुन् ।

कार्यदलले खोजबिनका क्रममा नौवटा नयाँ दस्तावेज फेला पारेको हाे । कार्यदलले प्राप्त गरेको नयाँ दस्तावेजमा इन्भाइरोमेन्टल एण्ड सोसियल मेनेजमेन्ट प्लान, सोसियल जेनेरल इन्टिग्रेसन प्लान, इक्वीपमेन्ट एजेन्ट एग्रिमेन्ट, प्रोजेक्ट कोअपरेशन एग्रिमेन्ट, डीपीआर अफ ट्रान्समिसन लाइन प्रोजेक्ट, डीपीआर अफ रुट प्रोजेक्ट लगायतका छन् । त्यसमा स्टेप पार्टनरसिप एग्रिमेन्ट सबैभन्दा महत्वपूर्ण रहेको बताइएको छ ।

आठ–नौ सय पृष्ठ रहेका ती दस्तावेजको गहिरो अध्ययनपछि मात्रै निचोडमा पुग्न सकिने खनालको भनाइ छ । प्राप्त दस्तावेजबारे कार्यदलका सदस्यहरुले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत मौखिक जानकारी गराइसकेका छन् ।

केपी ओली नेतृत्वको सरकारसँग पटक पटक माग्दा समेत यी दस्तावेज उपलब्ध नगराएको खनालको भनाइ छ । यी दस्तावेजहरु झण्डै आठ-नौ सय पृष्ठका रहेकोले ती दस्तावेजहरुको गम्भीरतापूर्वक अध्ययन गरेर मात्र एमसीसीबारे निचोडमा पुगिने उनले जनाएका छन् । दस्तावेजहरूका बारेमा अध्ययन गर्ने क्रम अहिले जारी नै रहेको पनि खनालले बताए । एमसीसीकाबारेमा पछिल्लो समय मिडियामा आएका कुनै पनि कुरामा सत्यता नभएको संयोजक खनालको जिकिर छ ।

पछिल्लो समय आगामी संसद बैठकमा एमसीसीबारेको प्रस्ताव संसदमा प्रस्तुत गर्न गठबन्धनभित्र सहमति भएको र एमसीसी अनुमोदनमा साथ नदिए गठबन्धन नै टुट्ने चेतावनी प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको लगायतका समाचार बाहिर आएका छन् । तर यी समाचारमा कुनै सत्यता नभएको संयोजक खनालकाे भनाइ छ । नेता खनालले एमसीसी सम्झौता संशोधनबिना कुनै हालतमा अनुमोदन नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *