सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण सुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो ।
चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउँदै आएपनि विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण विमानस्थल निर्माणको समय एक वर्ष थप गरी २०२२ जुलाई १० सम्म धकेलियो ।
अहिले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण सम्पन्न भइसकेको बताइएको छ । सन् २०२२ जुलाई नजिकिँदै गर्दा पोखरालाई विश्वसँग जोड्न महत्वपूर्ण मानिएको विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल व्यवस्थापनतर्फ समयमै नसोचिँदा अहिले यो मुख्य समस्याका रूपमा देखिएको छ ।
सुरक्षित उडानका लागि विमानस्थल दुई किलोमिटर क्षेत्रमा रहेको ल्याण्डफिल साइटलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ । विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थल जुलाईसम्ममा सम्पन्न हुने तर ल्याण्डफिल साइटको व्यवस्थान हुन नसके उडान सम्भव नहुने बताउँछन् ।
विमानस्थलको ९१ प्रतिशत काम सकिएको छ, अब बाँकी पनि समयमै सकिनेछ तर महानगरको जिम्मेवारीभित्र रहेको ल्याण्डफिल साइट समयमै स्थानान्तरण गरिएन भने उडानमा समस्या आउने उनको भनाइ छ ।
उहाँले महानगरलाई यस विषयमा पटकपटक लिखित र मौखिक रुपमा जानकारी गराइरहे पनि सोअनुरुप काम अघि बढ्न ढिलासुस्ती भइरहेको बताए । मुख्य समस्याका रूपमा रहेको ल्याण्डफिल साइडका लागि उचित स्थानको खोजी भइरहेको र छिट्टै यसको समाधान हुन्छ भन्ने आश्वासन मात्र महानगरबाट पाएका मुनाकर्मीले बताए ।
पोखरा महानगरपालिका वडा नं १४ बाच्छेबडुवामा रहेको ल्याण्डफिल साइट हाल निर्माणाधीन विमानस्थलबाट करिब दुई किमीमा छ । उडानसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतानुसार विमानस्थलबाट १० किमीभित्र ल्याण्डफिल साइट हुनुहुँदैन । ल्याण्डफिल साइट नजिक हुँदा चिल, गिद्धलगायत चराचुरुङ्गीबाट हवाई उडान जोखिममा पर्न सक्ने देखिन्छ ।
लामो समयदेखि एकै स्थानमा आहारको खोजी र आसपासमा बासस्थान बनाइरहेका चरा त्यही ठाउँमा आहाराका लागि आइरहने हुँदा कम्तीमा ६ महिना अगाडिदेखि स्थानान्तरण गर्नुपर्ने मुनाकर्मी बताउँछन् । डम्पिङ साइटको स्थान टुङ्गो लगाएर मात्र व्यवस्थापन गर्न सकिए चराबाट उडानमा आउने समस्या समाधानका लागि बाटो खुल्ने उनले बताए । पुरानो ठाउँमा बाक्लो माटाले पुरेर र बर्ड स्केरिङ डिभाइस राखेर त्यस क्षेत्रमा देखिने अन्य चराको समस्यालाई पनि व्यवस्थापन गर्न सकिने उनको भनाइ छ






