पूर्वन्यायाधीश लालसहित ३१ जना सम्मानित

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालसहित ३१ जना सम्मानित भएका छन्। शनिबार राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा नेपाल र भारतका विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको हो ।

लाल कानुन व्यवसायीपछि लाल हेटौँडा पुनरावेदन अदालतका न्यायाधीशका रूपमा नियुक्त भएका थिए। त्यसपछि मुख्य न्यायाधीश हुँदै २०६७ मंसिरदेखि उनी सर्वोच्च अदालतका न्यायाधीश नियुक्त भएका हुन्।

उनी बहुचर्चित लाल आयोगको संयोजक रहिसकेका छन्। वर्तमान संविधान जारी हुनुअघि मधेस र थरुहट क्षेत्रमा भएको आन्दोलनको जाँचबुझ गर्न उक्त आयोग गठन गरिएको थियो जसले सात सयभन्दा बढी पृष्ठको प्रतिवेदन सरकारलाई बुझएको थियो। यद्यपि, उक्त प्रतिवेदन सार्वजनिक भने भएको छैन।

यसैगरी, ६६ पुसमा सर्वोच्चले गठन गरेको विकृतिविहीन न्यायपालिकाको विकासका लागि अध्ययन कार्यदलमा पनि उनी सदस्य थिए। ०७२ साउनमा गठित यस्तै अर्को अध्ययन समितिमा उनी संयोजक थिए।

पूर्वन्यायाधीशहरू लाल, लोकेन्द्र मल्लिक र कमलनारायण दासका साथै पूर्व प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, शिक्षाविद् शैलेन्द्रनारायण मल्लिक र घनश्यामलाल दासलाई उक्त कार्यक्रममा सम्मानित गरिएको थियो।

मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तलाई शिक्षा र सुशासनका क्षेत्रमा योगदान दिएकोमा सम्मानित गरिएको छ। समाजसेवा र उद्यमका क्षेत्रबाट अरुणकुमार कर्ण तथा स्वास्थ्य क्षेत्रबाट डा। श्यामसुन्दर दासलाई सम्मान प्रदान गरिएको हो।

न्याय र सुशासनका क्षेत्रमा योगदान गरेकाले जनार्दनलाल मल्लिकलाई पनि मृत्युपश्चात् सम्मान गरिएको छ। शुक्रबार र शनिबार राजधानीमा आयोजित कर्ण कुम्भ– २ मा उनीहरूलाई आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत सम्मानित गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *